यहाँ लोग्नेमान्छे रुदैनन्,
रुनु त कमजोरी हो रे,
बलियो बन्नुपर्छ रे,
भावनालाई भित्तामा टाँसेर,
दर्दलाई मुटुभित्र थुनेर ।
आँसु?
त्यो त केवल आमाको आँखाबाट बग्छ,
बहिनीका अनुहारमा देखा पर्छ,
तर लोग्नेमान्छे?
उनीहरू त आँसु नझार्ने यो दुनियाँका खम्बा हुन् रे ।
तर उनीहरू पनि त दुखित हुन्छन,
जब जिम्मेवारीको भारीले थिच्छ,
जब सपनाभित्र भित्रै चिच्याउँछन्,
तर बाहिर केवल मुस्कान छर्छन् ।
कसैलाई थाहा छैन,
उनीहरूको पिठ्युँमा बिसाएको
आर्थिक भार कति भारी छ,
कसले देख्छ र?
त्यो भारीले कम्मर कति बाँगिएको छ ।
यहाँ लोग्नेमान्छे रुदैनन्,
जब परिवारको भोक देख्छन्,
तब आफ्नै चाहना जलाउँछन्,
जब भत्किएको भरोसा थाम्न खोज्छन् ।
उनीहरूको रुनुलाई
एउटा कोठाको एकान्तले मात्र बुझ्छ,
जहाँ उनीहरू आँसुमा बगेर,
फेरि संसारसँग बलियो देखिन्छन् ।
यहाँ लोग्नेमान्छे रुदैनन्,
किनभने समाजले तिनीहरूलाई
रुन अस्वीकार गरिसकेको छ ।
तर कहिलेकाहीँ, रातको अँध्यारोले
उनीहरूको आँसुलाई ओत दिन्छ ।
किनकी लोग्नेमान्छे पनि मानिस हुन्,
उनीहरूको मुटु पनि दुख्छ,
तर तिनीहरू कहिल्यै
भिजेको अनुहार देखाउँदैनन् ।